पूर्वसभामुख कृष्णबहादुर महरालाई गत सोमबार पुर्पक्षमा कारागार चलान गर्नुअघि काठमाडौं जिल्ला अदालत, प्रहरी र कारागार प्रशासनका अधिकारीबीच अनौपचारिक कुराकानी भयो । विषय थियो– ‘उनलाई कुन कारागार पठाउने ?’ उनलाई कुन कारागार जाने भनेर सोधियो ।
महराले डिल्लीबजार कारागार रोजे । जेलर अरुण पोखरेलले सबै प्रक्रिया पुर्याएर ‘क’ ब्लकमा ५ बन्दी अट्ने ‘साझा कोठा’ मा महरालाई राखे । कारागारमा महरा प्रहरीका पूर्वमहानिरीक्षक रमेशचन्द ठकुरीका ‘रुम पार्टनर’ बनेका छन् ।
सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका ठकुरीलाई पनि ४ महिनाअघि सर्वोच्चमा सोधिएको थियो– ‘कुन कारागार जान चाहनुहुन्छ ?’ उनले पनि डिल्लीबजार रोजेका थिए । सुडान घोटाला प्रकरणमा ०७४ वैशाख१७ मा दोषी ठहर भएपछि सम्पर्कविहीन उनी २ वर्षपछि ०७६ असार १९ मा सर्वोच्चमा उपस्थित भएका थिए । ठकुरीलाई उनकै आग्रहमा डिल्लीबजार सदरखोर चलान गरियो । महरा र ठकुरीजस्तै ‘भीआईपी’ कैदीबन्दीहरूको रोजाइ पनि सोही कारागार छ ।
अन्य कारागारको तुलनामा चाप कम तथा पायक पर्ने लोकेसनका कारण कैदीबन्दीले डिल्लीबजार रोज्ने गरेको कारागार व्यवस्थापन विभागका कामु महानिर्देशक वासुदेव घिमिरेले बताए । ‘कैदीको चाप कम छ, लोकेसन पनि उपयुक्त ठाउँमा छ । भेटघाट सुविधा सहज छ,’ उनले भने, ‘केन्द्रीय कारागार, नख्खु वा कैदीबन्दीको चाप कम भएका अन्य कारागारमा यस्तो सहज अवस्था छैन । त्यसैले कैदीबन्दीको रोजाइ डिल्लीबजार भएको हो ।’
यद्यपि कैदीबन्दीलाई कुन कारागार पठाउने भन्ने अन्तिम निर्णय अदालतबाटै हुने उनले बताए । विभागका अनुसार केन्द्रीय कारागारमा प्रतिदिन कैदीबन्दीलाई भेट्न आउनेको संख्या ५ सयभन्दा बढी छ । त्यति नै संख्यामा आफन्तसँग टेलिफोन गर्न लाइन हुन्छ । डिल्लीबजार कारागारमा यस्तो झन्झट कम भएको घिमिरेको भनाइ छ । -कान्तिपुर दैनिकबाट