ठगी र किर्ते मुद्दामा फरार रहेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आइतबार पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले राजीनामा बुझाएका हुन् । राज्यमन्त्री रावलले दिएको राजीनामा मुख्यमन्त्री भट्टले स्वीकृतसमेत गरिसकेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले जानकारी दिए । रावलले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबीसमेत मुख्यमन्त्रीलाई बुझाएर फर्किएको शाहले बताए ।
आपराधिक गतिविधिबाट उनले सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा केही अघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको थियो ।
उनीविरुद्ध गत साउन ७ गते जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा किर्ते मुद्दा परेको थियो । सोही मुद्दासँगै उनको सम्पत्ति पनि विभागले छानबिन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फरार अभियुक्तका रुपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । कञ्चनपुरको एक क्याम्पसको सेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा रावलले राजीनामा दिएको बताइएको छ।
अदालतले रावलविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन । अब उनले राजीनामा दिएसँगै पक्राउ पर्न सक्ने प्रहरी स्रोतको दाबी छ ।