सत्तारूढ नेकपाले संघीय संसद् अधिवेशन आह्वानसँगै उपसभामुखलाई राजीनामा गराउने तयारी थालेको छ । अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचनअघि नै राजीनामा गराउने नेकपाले तयारी गरेको हो ।
उपसभामुखको राजीनामा नगराए नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउँदैन । सभामुख पद आफैँसँग राख्न नेकपाले उपसभामुखको राजीनामा गराउन लागेको हो । यद्यपि अधिवेशन र सभामुखको उम्मेदवार दुवै अहिले निश्चित छैन ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने संविधानमा उल्लेख छ । यसअघि पनि तत्कालीन एमाले र माओवादी केन्द्रले उक्त पद बाँडफाँड गरेका थिए । पार्टी एकीकरणपछि प्रमुख विपक्षी दल नेपाली काँग्रेसले दुईमध्ये एक पद छाड्नुपर्ने माग गरेको थियो । अदालतमा मुद्दा विचाराधीन भएपछि उक्त विवाद तत्कालका लागि सेलाएको थियो ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी प्रयासको आरोप लागेपछि पदबाट राजीनामा दिए । राजीनामासँगै सभामुख पद नेकपाले आफैँसँग राख्न उपसभामुखको राजीनामा अनिवार्य छ ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ संवैधानिक परिकल्पनाअनुसार सभामुख-उपसभामुखको मनोनयनअघि पार्टीले उपयुक्त निर्णय लिने बताउँछन् । 'संविधानले सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने व्यवस्था गरेको छ । त्यो विषय हाम्रो जानकारीमा छ । सभामुख चयनको निर्वाचनअघि पार्टीले यस विषयमा उपयुक्त निर्णय लिन्छ,’ उनको भनाइ छ ।
कतिपयले भने उपसभामुखले राजीनामा दिने अवस्थासमेत नरहेको बताउने गरेका छन् । सभामुखको पद रिक्त रहेको अवस्थामा उपसभामुखले राजीनामा दिन नमिल्ने तर्क छ । प्रतिनिधिसभा नियमावलीले उपसभामुखले सभामुखलाई सम्बोधन गरी राजीनामा दिन सक्ने व्यवस्था छ । -गोरखापत्र दैनिकबाट