सत्तारुढ दल नेकपाको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शुक्रबार लैनचौरस्थित भारतीय दूतावास घेराउ गरेको छ। भारतले नेपाली भूभाग कालापानी र लिपुलेकलाई आफ्नो क्षेत्रमा पार्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि अनेरास्ववियु प्रदर्शनमा उत्रिएको हो।
प्रदर्शनपछि आयोजित विरोध सभामा अनेरास्ववियुका सहसंयोजक रन्जित तामाङले भारतले सार्वजनिक गरेको नक्सालाई कुनै पनि नेपालीले नस्वीकार्ने उल्लेख गर्दै सरकारले चाहेमा सीमामा गएर रक्षा गर्न आफूहरु तयार रहेको बताए। उनले नेपालमाथि गिद्दे दृष्टि नलगाउन भारतलाई आग्रह गर्दै यो मुद्दालाई अन्तर्राष्ट्रिय तहमा लैजाने बताए। उनले आफ्नो धारणामा पछि नहट्न पनि सरकारलाई आग्रह गरे।
कार्यक्रममा अनेरास्ववियुका संयोजक ऐन महरले पनि बोलेका थिए।