निर्वाचन आयोगले तय गरेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि प्रमुख राजनीतिक पार्टीसहित स्वतन्त्रका तर्फबाट कूल ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम आजका लागि तय गरिएको थियो । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं २, प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नं १ को १, दाङ निर्वाचन क्षेत्र नं ३ को २ र बागलुङ क्षेत्र नं २ को २ का लागि आज उम्मेदवारी दर्ता गराइएको हो ।
कास्की क्षेत्र नं २ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका नेकपाका सांसद रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त भएको पदका लागि आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो । सो निर्वाचन क्षेत्रमा कूल २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कूल २२ जनाको उम्मेदवारी परे पनि सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी काङ्ग्रेसका उम्मेदवारबीच नै प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ का लागि पनि प्रमुख राजनीतिक दलसहित स्वतन्त्र समेत गरी कूल १९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएकाे निर्वाचन आयोगले जनाएको छ ।
यस्तै बागलुङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा नं २ का लागि कूल १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै दाङको निर्वाचन क्षेत्र नं ३ को २ प्रदेशसभाका लागि प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी कूल १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्