गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार पदवहाली गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कात्तिक १८ गते नियुक्त शेरचन मंगलबार सपथ खाएपछि बुधबार पोखरा आएका हुन् ।
हिन्दु परम्परा अनुसार पूजा आजा गरी उनी कार्यकक्षमा छिरेका थिए । पदभार ग्रहणपछि बोल्दै प्रदेश प्रमुख शेरचनले मुलुकमा व्याप्त संकट निवारणमा सबै राजनीतिक दलसँगको सहमतिमार्फत अगाडि बढ्न भूमिका खेल्ने बताए ।
‘तत्कालीन आन्दोलनमा सहभागी सबै सहयात्रीहरुको समझदारीमा मुलुकको राष्ट्रियता, सार्वभौमिकतालाई जोगाउन सक्छौं,’ उनले भने, ‘त्यहीँ उद्देश्यलाई केही सहयोग पुर्याउन सक्छु भन्ने लागेर पद स्वीकार गरेको हुँ ।’
मुलुकले हाँसिल गरेको महत्वपूर्ण उपलब्धि समावेशी लोकतन्त्र, गणतन्त्र र संघीयता अन्य मुलुकको भन्दा भिन्न रहेको प्रदेश प्रमुख शेरचनले बताए । सरकारको अनुभूति स्थानीय सरकारले गराइरहेको हुँदा जनताको पीरमर्का समाधानकै लागि तीनवटा सरकारले काम गरिरहेको उनले सुनाए ।
उनलाई विमानस्थलमा स्वागत गर्न गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, अन्य मन्त्रीहरु, सभामुख नेत्रनाथ अधिकारी, सरकारी अधिकारीहरु, नेकपाका प्रदेश तथा जिल्ला तहका नेता र स्थानीय तहका जनप्रतिनिधि पुगेका थिए ।