पोखरा उच्च अदालतका एक न्यायाधीशलाइ बर्खास्त गरिएकाे छ। क्षेत्राधिकार मिचेर गोर्खा ब्रुअरीको अन्त:शुल्क सम्बन्धी मुद्दामा आदेश गरेकाे भन्दै न्याय परिषद्ले न्यायाधीश नरबहादुर शाहीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
पदीय आचरण विपरित काम गरेको भन्दै उनलाइ बर्खास्ती गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । छानबिनको दायरामा आएका न्यायाधीश जीवनहरि अधिकारी र रामचन्द्र यादवले यसअघि नै राजीनामा दिइ सकेका छन् ।न्यायाधीश शाहीलाई भने परिषद्ले लिखित स्पष्टिकरण मागेको थियो ।
गएको साउन ८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले क्षेत्राधिकार मिचेर फैसला गरेको आरोप लागेका पोखरा उच्च अदालतका न्यायाधीशहरु जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानबिन तथा कारबाही गर्न आदेश दिएको थियो।परिषद्ले गत १३ साउनमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको थियो ।
बैठकले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भूर्तेल सुन काण्ड विवादमा परिषदमा काजमा तानिएपछि विराटनगरको मुख्य न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।