सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चियापान कार्यक्रम भृकुटीमण्डपमा सुरु भएको छ। नेकपाले बडादसैं, तिहार तथा छठ पर्वका अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ । अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख नेताहरु माधवकुमार नेपाल, विष्णु पौडेल, नारायकाजी श्रेष्ठलगायतका नेताहरु उपस्थित भएका छन् ।
पूर्व एमाले र पूर्व माओवादी एकीकरण भएर बनाइएको नेकपाको चियापान भएपनि कार्यक्रमस्थल पूर्व एमालेको सूर्य चिन्हअंकित झन्डाले ढपक्कै ढाकिएको छ। यद्यपि नयाँ पार्टी नेकपाको चुनाव चिन्ह सूर्यभित्र हसिया हथौडाको झन्डा पनि कतै कतै देखिएको छ।
चियापानका लागि भृकुटीमण्डप बगैचामा स्टेज बनाइएको छ। दिउँसो १२ बजेदेखि ३ बजेसम्म नेता कार्यकर्ताका लागि चियापानको व्यवस्था गरिएको छ भने ३ बजेपछि कुटनीतिक नियोगका अधिकारीका लागि व्यवस्था गरिएको छ । कुटनीतिक नियोगका पदाधिकारीका लागि छुट्टै कार्यक्रम स्थल बनाइएको छ ।
चियापानका लागि अपर्ण ब्यांकेटले खास्टाकचौरी, निम्की, लड्डु, केरा र चियाको व्यवस्था गरेको छ । ३५ हजार हाराहारीलाई पुग्ने गरी चियापानको तयारी गरिएको हो जनाइएको छ।