ष्ट्रपति विद्या भण्डारी शीतलनिवासबाट हेलिकप्टर चढेर विमानस्थल पुगेकी छन् । यसअघि गाडीमै विमानस्थल जाने गरेकी राष्ट्रपति भण्डारी म्यानमारको भ्रमणका क्रममा आज (बुधबार) हेलिकप्टरबाटै एयरपोर्ट पुगेकी हुन् ।
म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा भण्डारी त्यसतर्फ गएकी हुन् ।
उनलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, मन्त्रीलगायतले बिदाइ गरेका थिए । भण्डारीको म्यानमार भ्रमण पाँचदिने हुनेछ ।
भ्रमणका बेला म्यानमारका समकक्षीसँग भण्डारीले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । यस्तै त्यहाँकी स्टेट काउन्सिलर आङ सान सुकीले पनि भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले याङ्गुन सहरको पनि भ्रमण गर्ने कार्यक्रम छ । भ्रमणमा उनीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव तथा परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारी पनि सहभागी छन् ।
म्यानमारको ५ दिने भ्रमण सकेर राष्ट्रपति भण्डारीले कात्तिक ३ उतैबाट सीधै जापान भ्रमणमा जाने कार्यक्रम तय भएको छ । उनी जापानी सम्राट नारोहितोको राज्यारोहण समारोहमा सहभागी हुन जापान जान लागेकी हुन् । म्यानमारपछि जापान भ्रमणमा निस्किएकी राष्ट्रपति भण्डारी कात्तिक ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।