त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्क तोडफोड गर्ने गैरआवासीय नेपाली संघ (एनआरएन)का एक प्रतिनिधिलाई अध्यागमन विभागले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
नेपाली मूलका अस्ट्रेलियाली नागरिक रमेशकुमार थापालाई ५० हजार रुपैयाँ जरिवाना गराइ अबदेखि यस्ता गतिविधि नगर्ने कागज गराएर छाडेको अध्यागमन विभागले जनाएको छ।
उनसँगै अन्य चार नेपाली मूलका अस्ट्रेलियाली नागरिकमध्ये एक जनालाई २५ हजार रुपैयाँ र बाँकी तीन जनालाई कागज गराएर छोडिएको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले बताए।
भिसा दिन ढिला गरेको भन्दै गत आइतवार उनीहरूले अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीमाथि अपशब्द बाेल्नुका साथै डेक्स ताेडफाेड गरेका थिए।विमानस्थलमा गैरआवसीय नेपालीका लागि अलग्गै अध्यागमन डेस्कको व्यवस्था गरिएको छ।उनीहरु एनआरएको नवौं महाधिवेशनमा भाग लिएका नेपाल आएका थिए ।