उडान ढिला भएको भन्दै जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने सांसद प्रमोदकुमार साहविरुद्ध मंगलबार जिल्ला अदालत जनकपुरले पक्राउ पुर्जी जारी गरेको छ।
जिल्ला प्रहरी कार्यालय जनकपुरको अनुरोधमा अदालतले साहविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। उनी राष्ट्रिय जनता पार्टीतर्फबाट सर्लाहीबाट निर्वाचित सांसद हुन्।
जहाज ढिला हुँदा आफू जिल्ला भ्रमणमा जान नपाएको र एक बिरामीले समयमा अस्पताल पुग्न नपाएको भन्दै उनले सोमबार दिउँसो बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा अभद्र व्यवहार गरेका थिए। उनले काउन्टरमा बसेका कर्मचारीलाई धकेलेका पनि थिए।
उनलाई बुद्ध एयरले चढाउन नमानेपनि प्रहरी र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको फोनपछि साहलाई काठमाडौं उडाएका थिए।
नेपाल वायुसेवा सञ्चालक संघले सात दिनभित्र दोषीलाई कारबाही नगरे उडान बन्द गर्ने चेतावनी दिएको छ।