राजपाका सांसद प्रमोद साहले जनकपुर विमानस्थलमा रहेकाे बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन्।साहले लात हान्दा काउन्टरको सिसा फुटेको छ।
बिरामी यात्रु बारे विमानस्थलका कर्मचारी र एयरलाइन्सलाई जानकारी गराउँदा बेवास्ता गरेपछि काउन्टरमा लातले हानेको सांसद साहले बताए। तीन घण्टासम्म विमान ढिलो हुँदा बिरामीलाई खानेपानी समेत उपलब्ध नगराएको र पटक–पटक विमान बारे जानकारी माग्दा वेवास्ता गरेको साहले बताए।
११:४० बजेको समय तोकिएको बुद्ध एयरको बोर्डिङ पास लिएर बसेका यात्रु १ बजेर ५० मा उडेका थिए।साह सर्लाही क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । जनकपुर विमानस्थल निकै अव्यवस्थित रहेकाे यात्रुहरूले समेत बेलाबखत गुनासाे गर्ने गरेका छन् ।
यसैबीच, निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुले जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साहमाथि कारवाही नभए उडान बन्द गर्ने चेतावनी दिएका छन् ।जनकपुरमा घटनाको छानबिन गरी सात दिनभित्र कारवाही गर्न वायुसेवा संचालक संघले अल्टिमेटम दिएको हो ।