यौन दुर्व्यवहार आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि प्रहरी र सरकारी वकिल एकीकृत रूपमा अनुसन्धानमा जुटेका छन्। पीडित महिलाको जाहेरीका आधारमा अनुसन्धान गरी तथ्य पत्ता लगाउन अनुसन्धान थालिएको हो।
महरा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जीको अनुमति दिएपछि उनलाई हिरासतमा लिइएको थियो। उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
‘प्रहरी र सरकारी वकिलको समन्वयात्मक अनुसन्धान सुरु भएको छ। अहिले घटनासम्बद्ध प्रमाण संकलन गरिँदै छ,’ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खनालले अन्नपूर्णसँग भने, ‘अनुसन्धान सुरु भएको छ। कहिले सकिन्छ भनेर अहिल्यै भन्न सकिन्न।’
जिल्ला न्यायाधिवक्ता खनालका अनुसार जाहेरीअनुरूप यौन दुर्व्यवहार भएनभएका विषयमा निक्र्योलमा पुग्न केही समय लाग्नेछ। मुलुकी फौजदारी संहिताअनुसार अनुसन्धान शंकारहित तबरमा बलियो पार्न सरकारी वकिलले प्रहरीलाई निर्देशन दिन सक्छ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले सरकारी वकिलसहित सबैतिर समन्वयात्मक रूपमा अनुसन्धान अघि बढिरहेको बताए। ‘अनुसन्धानकै विषयमा सरकारी वकिलसँग बिहीबार दिनभर छलफल भएको छ,’ बोगटीले भने, ‘अनुसन्धानका सबै पक्ष भन्न मिल्दैन।’
संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि महराले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत शुक्रबार जाहेरी दिएकी थिइन्। असोज १२ गते साँझ रक्सी बोकेर तीनकुनेस्थित कोठामा गएका महराले कुटपिट गर्दै जबरजस्ती यौन दुर्व्यवहार गरेको आरोप शाहीको छ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबरजस्ती करणी प्रयास भएको शाहीको उजुरीमा उल्लेख छ।
फौजदारी अपराध संहिताअनुसार मुद्दा चलाउन प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो।
शाहीले असोज १३ गते ‘हाम्राकुरा डट कम’ अनलाइन मिडियामार्फत महराबाट आफूलाई ‘बलात्कारको प्रयास’ गरेको भन्दै सार्वजनिक गरेकी थिइन्। भोलिपल्ट शाहीले महरा आफ्नो पितासमान रहेकाले आफूमाथि बलात्कार प्रयास नभएको भन्दै बोली परिवर्तन गरेकी थिइन्। त्यसपछि शाहीले नै महराविरुद्ध पुनः किटानी जाहेरी दिएकी छन्।
फौजदारी संहिताको दफा २२४ (१) कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउन नहुने व्यवस्था गरेको छ। कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरीविना करणीको आशयले समातेमा वा निजको संवेदनशील अंग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोसाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोसाक लगाउन वा फुकाल्न कुनै किसिमले अवरोध गरेमा यौन दुव्र्यहारको कसुर मानिने छ। अन्नपूर्ण पाेस्टमा खबर छ।