सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको समाचार सार्वजनिक भएलगत्तै गत सोमबार राति नै महराको निजी सचिवालयले खण्डन गर्यो। जनस्तर, पार्टी तथा सरकारबाट तीव्र आलोचना र दबाबपछि महराले मंगलबार सभामुख पदबाट राजीनामा दिए। त्यही दिन साँझ पीडित भनिएकी शाहीले एकाएक आफ्नो परिचय खुलाउँदै अन्तर्वार्ता दिइन्– महरा मेरा बाबुसमान हुन्, उनी मेरो कोठामा आएकै थिएनन्।
घटना सार्वजनिक भएको भोलिपल्ट अर्थात् मंगलबार प्रधानमन्त्री केपी ओलीले नेकपाका अर्का अध्यक्ष पुुष्पकमल दाहालसँग छलफल गरी महरालाई सभामुखबाट राजीनामा गर्न लगाए। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालसँग त्यस्तो केही नभएको भन्दै महरा पन्छिन खोजे। तर त्यसअघि प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई बालुवाटार बोलाएर सुबिधानगरस्थित रोशनीको निवासमा महरा कतिबेला पुुगेर कति समय बिताएका थिए भन्ने सीसी टिभीको फुटेज नै देखाएका थिए। जुन फुटेज देखेपछि दाहाल पनि महरालाई तत्काल पदमुक्त गराउन राजी भएका थिए।
आखिर कसरी पुग्यो प्रधानमन्त्रीकहाँ फुटेज?
प्रधानमन्त्री ओलीले प्रहरीबाट सीसीटीभीको फुटेज हेरेर आफूले घटनाबारे थाहा पाएको बताए पनि बालुवाटारमा त्यो फुटेज पुर्याउने व्यक्ति महान्यायाधिवक्ता अग्नी खरेल भएको नेकपाका एक केन्द्रीय नेताले बताए।
ती नेताका अनुसार सुुविधानगर टोल सुधार समितिमा खरेलकी श्रीमती अध्यक्ष छिन्। समितिले दसैं, तिहारजस्ता चाडपर्वमा चोरीका घटना हुन सक्ने भएकाले त्यस्तो घटना भएमा पहिचान गर्न सहज हुने भन्दै केही समयअघि सीसीटीभी जडान गरेको थियो। महरा कान्ड सार्बजनिक भएपछि सोमबार राति नै खरेलले सीसीटीभीको फुटेज निकालेर राखेका थिए। मंगलबार बिहानै प्रधानमन्त्री निबास बालुवाटारमा लगेर उनले प्रधानमन्त्रीलाई सो फुटेज देखाएको बालुवाटार स्रोतले बतायो। स्रोतका अनुसार खरेलसँगै नेकपा संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुुवास नेम्वाङ पनि बालुुवाटार पुुगेका थिए।
सो फुटेजमा महरा निजी सुरक्षाकर्मीलाई बाहिर राखेर आइतबार साँझ ७ बजेर ६ मिनेट जाँदा रोशनीको कोठामा पसेको देखिन्छ। महरा १ घण्टा १९ मिनेट त्यहाँ बसेर ८ बजेर २५ मिनेटमा बाहिर निस्केका थिए। त्यसपछि राति ८ बजेर ५३ मिनेट जाँदा उनी आफ्नो सरकारी निबास छिरेका थिए।