सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने रोशनी शाहीले अस्वाभाविक रुपमा २४ घण्टामै बयान बदल्नुका साथै पतिसँग सम्बन्धविच्छेद गर्ने सहमतिको घटनाप्रति समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले तिखो टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमा सत्ताशक्तिको धाकमा शाहीलाई फकाएर या धम्क्याएर युटर्न गराइएको भन्दै नेकपाको आलोचना गरेका छन्।
नेता भट्टराईले ट्वीटरमा भनेका छन्– सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने, भेद खुलेपछि ती स्त्रीलाई नै फकएर/धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने, परपुरूषगमन गरेबापत अर्को पुरूष/लोग्नेले घरनिकाला गर्ने, यो राम–रावण द्वन्दमा सीतालाई बली चढाउने चलन कहिलेसम्म? यही हो महिलामुक्ति/सांस्कृतिक क्रान्ति, कणहरू?
रोशनी शाहीले सभामुख कृष्णबहादुर महराले बलात्कार तथा कुटपिट गरेको भन्दै सोमबार मिडियालाई अन्तर्वार्ता दिएकी थिइन्। उक्त अन्तर्वार्तामा उनले महराका फुटेका चश्मा तथा जुत्ताको तलुवा प्रमाणस्वरुप देखाएकी थिइन्। युट्युबमा सार्वजनिक उक्त अन्तर्वार्तामा कुराकानी हुँदै गर्दा महराको फोनसमेत आएको थियो। तर मंगलबार उनले आफ्नो बयान बदल्दै महरा आफ्ना बाबुसमान भएको भन्दै उनले केही नगरेको र आफ्नो कोठामा पनि नआएको बताएकी थिइन्।