नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको उपस्थितिमा मंगलबार दुवै पार्टीका विदेश विभाग प्रमुखहरुले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेकपाका विदेश विभाग प्रमुख माधव नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेको समझदारीपत्रमा उच्चस्तरीय भ्रमण, दुवै देशबीच सम्बन्ध हार्दिक बनाउने तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा एकमतसाथ प्रस्तुत हुनेलगायत विषय उल्लेख छ ।
नेकपा विदेश विभाग उप-प्रमुख विष्णु रिजालका अनुसार दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापनाका लागि समझदारी गरिएको छ । ‘आपसमा विचार, भ्रमण, अध्ययन आदानप्रदानका लागि नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो,’ रिजालले भने ।
सत्तारुढ सीपीसी र नेकपाबीच पहिलोपटक यो स्तरको वैचारिक छलफल भएको हो । यसअघि पार्टीको उच्च नेतृत्व तहमा मात्रै हुँदै आएको वैचारिक छलफल यसपटक चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणअघि बृहत् रुपमा आयोजना गरिएको हो ।