नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आज सम्पन्न हुदैछ। जागरण अभियानको दोस्रो चरणमा ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन र सभा गर्ने तयारी भइरहेको छ।
कांग्रेसले वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर भदौ २४ गतेदेखि ‘हिमाल, पहाड, तराई–मधेश जागरण’ नामक दोस्रो चरणको अभियान सुरु गरेको थियो।
समापनमा कांग्रेसले बढ्दो महँगी, वाइडबडी, न्यारो बडीलगायतका भ्रष्टाचार प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट नेतृत्वको सरकारका सम्पूर्ण कुशासनविरुद्ध प्रदर्शन गर्दैछ।
अभियानका क्रममा हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगति विरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडा स्तरीय अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्वन्द्वपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षालगायतका कार्यक्रम गरेको छ।
दोस्रो चरणको कार्यक्रमको समापनका लागि केन्द्रीय नेताहरु जिल्ला जिल्लामा पुगिसकेका छन्। कांग्रेस मुख्य सचिब कृष्ण पौडेलका अनुसार बरिष्ठ नेता रामचन्द्र पौडेल रोल्पा, उपसभापति विमलेन्द्र निधि कैलाली, महामन्त्री डा. शशांक कोइराला खोटाङ, कोषाध्यक्ष सीतादेवी यादब ललितपुर, कृष्णप्रसाद सिटौला सुनसरी, गोपालमान श्रेष्ठ काठमाडौं खटिएका छन्।