प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा को सुरक्षित छ भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन् ।
कांग्रेसको दोस्रो चरणको जागरण अभियानमा बाँके सभापति किरण कोइरालाको हात भाँचिएको भन्दै देउवाले मुलुकमा चौतर्फी असुरक्षा बढेको बताएका छन् । 'जागरण अभियानको क्रममा बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँचिदिएको छ। हलभित्र कार्यक्रम गर्दा पनि वृद्ध महिलाको हात भाँचिन्छ भने भने तपाईंको राज्यमा को सुरक्षित छ ?' बजेट अधिवेशनको अन्त्यमा बिहीबार प्रतिनिधिसभामा सभापति देउवाले भने ।
जनताले आन्दोलन गरी निरंकुशता हटाएको अवस्थामा पनि कार्यकर्ता परिचालन गरी सरकारले निरंकुशता लादन खोजेको उनको आरोप थियो । 'यसैका लागि २००७ सालदेखि लडेको हो ? यस्तो हुन थाल्यो भने धेरै दिन रोस्ट्रम घेराउ हुन्छ,' उनले भने ।
सरकार एकपछि अर्को संविधानविपरीत काम गर्न लागेको आरोप लगाउँदै देउवाले भने, 'जनतालाई बाँड्नुपर्ने शक्ति सरकार आफैंले सञ्चय गर्न थालेको छ ।' संवैधानिक व्यवस्थाअनुरुप सबै संवैधानिक निकाय स्वतन्त्र हुनुपर्नेमा सरकारले नियन्त्रण गरिरहेको उनको भनाइ थियो ।
देउवाले सरकार विकासमा सुस्त रहेको दाबी गर्दै ठूला भ्रष्टाचारको काण्ड ढाकछोपमा भने अग्रस्थानमा रहेको बताए । 'सबैभन्दा बढी भ्रष्टाचारका घटना यही डेढ वर्षमा भएका छन् । वाइडबडीदेखि बालुवाटारसम्म । कसैलाई उन्मुक्ति दिनुहुन्न, भ्रष्टाचारीलाई कारबाही गर्न प्रतिपक्षीले पनि सहयोग गर्छ,' उनले भने ।
उनले प्रेस स्वतन्त्रता ग्यारेन्टी हुँदा-हुँदै पनि सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न खोजेको र विवादस्पद विधेयक जबरजस्ती ल्याउने काम भएकोमा सच्चिनुपर्ने बताए ।