मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याउन गणेशमान सिंहको भूमिका महत्त्वपूर्ण रहेको उनका पुत्र एवं कांग्रेस नेता प्रकाशमान सिंहले बताएका छन् ।
२०४६ को जनआन्दोलनका कमान्डर गणेशमान सिंहको २२औँ स्मृति दिवसका अवसरमा बिहीबार गरिएको कार्यक्रममा प्रकाशमानले यस्तो बताएका हुन् । 'एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिस्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन सिंहको महत्त्वपूर्ण योगदान थियो,' प्रकाशमानले भने, 'उहाँको योगदानलाई स्मरण गर्नसमेत अपिल गर्दछु ।'
गणेशमान सिंह फाउन्डेसनको आयोजनामा शोभाभगवतीमा उनकै शालिकमा प्रकाशमानलगायत कांग्रेस नेताहरुले माल्यार्पण गरेका थिए । नेता प्रकाशमानले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गणेशमानको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । 'स्वर्गीय सिंह संघर्षशील, त्यागी, लौहपुरुष हुनुहुन्थ्यो,' उनले भने, 'उहाँ प्रजातान्त्रिक आन्दोलनलाई सहज ढंगले नेतृत्व गर्न सक्ने नेता हुनुहुन्थ्यो ।'
दुईतिहाइको सरकारले जनताको भावना र मर्मअनुसार काम गर्न नसकेको आरोप पनि उनले लगाए । 'वर्तमान सरकारले जनताको चाहना पूरा गर्न सकेन,' उनले भने, 'जनताको मतको कदर यो सरकारले गर्न सकेन ।' कांग्रेस नेता प्रकाशमानले पार्टी (कांग्रेस) पनि संस्थागत रूपमा चल्न नसकेको बताए । 'कांग्रेस पनि संस्थागत रुपमा चल्न सकेन,' उनले भने, 'सरकार र कांग्रेस दुवैको अवस्था उस्तै देखिन्छ ।' कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीसहित अन्य नेता-कार्यकर्ताले सिंहको सालिकमा माल्यार्पण गरेका थिए ।