बाँकेको खजुरामा गत बिहीबार नेपाली कांग्रेसको कार्यक्रममा प्रबेश गरेर जिल्ला सभापति किरण कोइरालाको हात भाँचिएको घटनाका सम्बन्धमा प्रहरी प्रशासनले किटानी जाहेरीसमेत लिन नमानेको भन्दै सरकारको कडा आलोचना गरेका छन्।
कांग्रेस सचेतक पुुष्पा भुसालले बाँके घटनामा गृहमन्त्रीले राजनीतिकरण गरेको आरोप लगाउँदै किटानी जाहेरीलाई ओझेलमा पारेको बताइन्। आक्रमणमा संलग्न नेकपाका कार्यकर्तालाई गृहमन्त्रीले जोगाउन खोजेको उनको भनाई थियो। ‘सत्ता उन्माद हो कि सरकार असफल भएको कुण्ठा पोखिएको हो बाँकेको आक्रमणमा ?’ भुसालको प्रश्न थियो। उनले किटानी जाहेरी दर्ता नगरेसम्म कांग्रेसले संसद चल्न नदिने बताइन्।
कांग्रेस सांसद गगनकुमार थापाले तथ्यलाई तोडमोड गरेर गृहमन्त्री थापाले अपराधीको नामसमेत लुकाएको बताए। उनले किटानी जोहरी लिएर गृहमन्त्रीले यो घटनामा नेकपाका कार्यकर्ता संलग्न छन् तिनीहरुमाथि कार्बाही गर्छु भनेर संसदलाई आश्वासन दिनुपर्ने माग राखे।
कांग्रेस सचेतक बालकृष्ण खाँणले बाँके घटनामा सरकारले राजनीतिकरण गरेको उल्लेख गरे। कांग्रेसका अर्का सांसद अमरेशकुमार सिंहले प्रहरीले माथिको निर्देशनमा भन्दै दोषीमाथि कार्बाही नगरेको बताए। उनले भने ‘त्यसो हो भने नेपाल प्रहरीलाई नेकपा प्रहरी भने भैगयो नि।’
किाटनी जाहेरी नलिएको कुराका बारेमा जानकारी छैन भनेर गृहमन्त्री थापाले सिंगो संसदलाई झुक्याएको सांसद प्रकाश स्नेही रसाइलीले बताए । सांसद रामबहादुर बिष्टले पंचायतकालमा यस्ता घटनामा सरकारले मण्डलेलाई अघि सार्ने गथ्र्यो भन्दै अहिले नेकपाको सरकारले अरिंगालाई अघि सारेर आक्रमण गरेको टिप्पणी गरे।
संसदमा बाँके घटनाका सम्बन्धमा जानकारी गराउँदै गृहमन्त्री रामबहादुर थापाले घटनाप्रति दुुःख व्यक्त गरे पनि घटनामा संलग्न बास्तबितकहरुको नाम भने उल्लेख गरेनन् । उनले यो घटनालाई राजनीतिकरण नगर्न कांग्रेससंग आग्रह गरेपछि कांग्रेस सांसदहरुले सत्तापक्षले नै राजनीतिकरण गरेको आरोप लगाएका थिए। गृहमन्त्री रामबहादुर थापाले भने ‘नेकपाको निर्देशन होइन, कार्यकर्ता संलग्न हुनसक्छन्’
सांसदहरुले गृहमन्त्रीको चित्तबुुझ्दो जबाफ नआएको भन्दै उभिएपछि सभामुख कृष्णबहादुर महराले आधा घण्टाका लागि संसद बैठक स्थगित गरेका छन्।