सरकारले भोजपुरमा नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच भएकाे भिडन्तमा ज्यान गुमाएका प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा गर्दै उनको परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकाे छ।
बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै आयाेजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन्। गत असार २५ गते भोजपुर जिल्लाको भोजपुर बजारमा विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा प्रहरी जवान राईको मृत्यु भएको थियो।
बैठकले बालुवाटार जग्गा प्रकरणको छानविन गर्न बनाएको समितिको म्याद थप गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको छानविन समितिको म्याद असोज २८ सम्मका लागि थप गरेको हो ।
त्यस्तै सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ।विराटनगर जुटमिल जाँचबुझ आयोगको म्याद थप गरेको छ भने विभिन्न श्रेणीका राजपत्रांकित पदहरूमा दरबन्दी स्वीकृत पनि गरेकाे छ ।
काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनाईने ईन्द्रजात्रा पर्वको सञ्चालन र व्यवस्थापनका लागि ईन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष स्थापना गर्ने पनि मन्त्रिपरिपद्ले निर्णय गरेकाे छ।
यस्तै मन्त्री बाँस्कोटाले डेंगुको संक्रमण नियन्त्रण बाहिर नगएको दाबी गरे । ४५ जिल्लाका करिब ७० हजार नेपाली डेंगुबाट प्रभावित भएको र २० जना भन्दा धेरैले ज्यान गुमाइसकेको अवस्थामा मन्त्री बास्कोटाले सरकारले काम गरि नै रहेको दाबी गरे ।
मन्त्री बास्कोटाले डेंगुबाट विश्वका तीन अर्ब मानिस जोखिममा रहेको विश्व स्वास्थ्य संगठनको भनाइ उद्धृत गर्दै सरकारले नागरिकको उपचारको स्रोत साधन मिलाइरहेको बताए । उपचारका स्रोत र साधन मिलाउने काम भइरहेको भन्दै उनले सरकारी प्रयासले मात्रै यो सम्भव नहुने बताए । उनले नेपाली राष्ट्रिय गानको बिषयमा अतिञ्जित गर्न नहुने अाग्रह गरे ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले बिभिन्न कार्यक्रमका लागी एसियाली बैंकबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय: