सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी उप-चुनावलक्षित गरी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
आगामी मंसिर १४ का लागि तय गरिएको उप-चुनावका लागि बिहीबार दल दर्ताको निवेदन दिइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । खिमलाल देवकोटालगायत नेकपाका नेताहरु दल दर्ताको निवेदन लिएर कान्तिपथस्थित आयोग पुगेका थिए ।
आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले नेकपाका तर्फबाट दल दर्ताको निवेदन आएको र उक्त निवेदन समितिमा पेस गरेपछि दर्ताको सम्बन्धमा निर्णय हुने जानकारी दिए ।
आयोगले आगामी मंसिर १४ का लागि प्रतिनिधिसभा सदस्य पद १, प्रदेशसभा सदस्य ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष २, गाउँपालिका उपाध्यक्ष १ र स्थानीय तहका विभिन्न वडाका वडाध्यक्षका लागि ४२ ठाउँमा निर्वाचन गर्दै छ ।
यसअघि सम्पन्न चुनावपछि मात्रै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएका कारण नेकपाले आगामी चुनावमा सहभागी हुन दल दर्ता गर्नुपरेको हो ।