पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा यात्रुवाहक बसमा आगजनी भएको छ। गएराति महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेकाे ना ६ ख ८४५६ नम्बरको यात्रुवाहक बसमा अज्ञात समूहले आगजनी गरेको जनाइएकाे छ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। बर्दघाट नगरपालिका ४ मा पर्ने खुर्सानीखोलामा गाडिमा आगजनी भएको जानकारी आएपछि बिहान ५ बजे प्रहरीले दमकल प्रयाेग गरेर नियन्त्रणमा लिइएको थियो।
‘बस बिग्रेको र उक्त बसमा रहेकाे यात्रुलाई अर्को गाडीमा हालेर काठमाडौं पठाइएपछि बिहानीपख आगजनी भएको बुझिएको छ, चालक र सहचालक पनि फरार रहेकोले उनीहरूकाे खाेजी कार्य जारी रहेकाे र उनीहरु भेटिएपछि अनुसन्धानबाट मात्रै घटनाबारे तथ्य फेला पर्ने नवलपरासीका ट्राफिक प्रहरी प्रमुख एसपी लालमनी आचार्यले जानकारी दिए। आगजनीबाट कुनै मानवीय क्षति भएको छैन।