सत्तारुढ नेकपाकी सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेकी छन् । उनले भारतले नेपालको सीमा मिच्ने काम बढाउँदै लगेको दाबी गर्दै सबै सीमानाका बन्द गर्नुपर्ने तर्क गरिन् ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारका बलमा नेपालको हजारौं किमि भूमि मिच्ने काम गरेकाले त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा बन्द गर्नुपर्ने बताइन् । ‘भारतीय सीमा सुरक्षा बलले जबर्जस्ती नेपालको भूमि दैनिक मिटरमा र वर्षमा हजारौं किलोमिटरका दरले मिच्ने गरेको छ,’ भुसालले भनिन्, ‘त्यसकारण त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्छ ।’
यस्तै उनले दुई मुलुकबीचको नागरिकलाई आउजाउका लागि परिचयपत्रको अनिवार्य व्यवस्था गर्नुपर्ने पनि बताइन् ।
‘कुनै मुलुकमाथि अर्को मुलुकलले हस्तक्षेप गर्नुहुन्न । हाम्रो भूगोल रक्षाका लागि भारतसँग जोडिएको सिमानामा तारबार र पर्खाल लगाएर नियमन गरौँ,' उनले भनिन्, ‘आफ्नो भूगोल बचाउन यो काम गर्नैपर्छ । तारबार लगाएपछि सीमानामा निश्चित नाका बनाउनुपर्छ ।’
नेपालको सीमा समस्या भारतसँग मात्रै रहेको बताउँदै उनले यस्तो खुला सीमा व्यवस्था संसारमा अन्त कहीँ नभएको जिकिर गरिन् । ‘संसार कहीँ पनि यस्तो देश छैन, जहाँ यस्तो खुला सीमा व्यवस्था होस्,’ उनले थपिन्, ‘भारतकै अन्य देशसँग पनि बन्द सीमा छ । तर नेपालमा चाहिँ खुला राखिँदा भारतले दैनिक मिचिरहेको छ ।’
कञ्चनपुरमा २०१६ सालमा राजा महेन्द्र जाँदा रहेको सीमाना अहिले १ घण्टा पैदल वर आइसकेको भुसालको दाबी थियो । ‘त्यहाँ राजा महेन्द्र गएका १ घण्टा पर रहेको सिमाना अहिले भारतले मिचेर १ घण्टा वर आइसकेको हामीलाई स्थानीयले बताए,’ उनले भनिन्, ‘भारतले मिच्दा नेपाल खुम्चिएको छ । सीमामा सेना र सशस्त्र प्रहरी राखौँ । ठेक्का बरु अरुलाई लगाउँला ।’