नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई विश्राम दिन सत्तारुढ नेकपालाई आग्रह गरेका छन् ।
संसदको विशेष समयमा बुधबार उनले सिंगापुरमा उपचाररत प्रधानमन्त्रीको स्वास्थलाभको कामना गरे । उनले प्रधानमन्त्री आलंकारिक पद नभएको र पछिल्लो समय कार्यबोझ पनि बढेको भन्दै अब प्रधानमन्त्रीलाई आराम दिनुपर्ने बताए । ‘उहाँले यो सबै गर्ने इच्छाशक्ति राख्नुहुन्छ भन्नेमा दुईमत छैन । तर इच्छाशक्ति मात्र सबै कुरा होइन । शारिरीक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्छ,’ कांग्रेस सांसद थापाले भने ।
सत्तारुढ नेकपासँग बहुमत भएको र पार्टीमा प्रधानमन्त्री भइसकेका र हुने इच्छा राख्ने व्यक्तिहरु पनि टन्नै भएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई किन विश्राम दिन नचाहेको भन्दै प्रतिप्रश्न गरे ।
नेकपाका सांसदहरुले प्रधानमन्त्रीलाई ‘बा’ भनेर सम्बोधन गरेको सुनेको भन्दै उनले भने, ‘प्रधानमन्त्री हाम्रो पनि बासरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनु भएको भए के भन्थ्यौं ? बा, धपेडी नगर्नुस् । आराम गर्नुस् । विश्राम लिनुस् ।’
सांसद थापाले विदेश उपचार गर्नुपरे सरकारले उपचार खर्च नव्यहोर्ने कानुन पालना गरेकोमा ओलीलाई धन्यवाद पनि दिए । तर प्रधानमन्त्रीको उपचारबारे सरकारले संसदलाई यथार्थ जानकारी नगराएको भन्दै असन्तुष्टि जनाए । प्रजातान्त्रिक आन्दोलन, शान्तिप्रक्रियामा योगदान पुर्याएको तथा स्वाभिमानको लडाइँमा अथक योद्धाका रुपमा काम गरेका ओलीलाई लामो समय अभिभावकका रुपमा हेर्न चाहेको उनले बताए ।