संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वर्तमान सरकार सफल भए मात्र संघीयता र गणतन्त्र सुदृढ हुने बताएका छन् । उनले यसका लागि दलहरुबीच अब विकास र समृद्धिको एजेन्डामा प्रतिस्पर्धा हुनुपर्ने बताए ।
जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन कार्यक्रममा शनिबार उनले समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले फड्को मार्ने बताए । उनले आर्थिक वृद्धिदर उकालो लाग्न थालेको र केही वर्षमै दोहोरो अंकको आर्थिक वृद्धिदर कायम गर्ने गरी सरकारले काम गर्ने लक्ष्य लिएको बताए ।
मुलुक तीन तहको संघीय व्यवस्थामा गएपछि कानूनी, संरचनागत र प्रशासनिक व्यवस्थापनमा सङ्घीय सरकारले धेरै समय खर्चनुपर्दा सरकारले अपेक्षाकृत कार्य गर्न नसकेको हो कि भन्ने भ्रम परेको मन्त्री भट्टराईको भनाइ छ । ‘पहिलो वर्षलाई आधार वर्ष मानेर यो सरकारले १८ मौलिक हकसम्बन्धी कानुन निर्माण, संविधानसँग बाझिने १५० कानुन संशोधन र प्रदेशको व्यवस्थापनमा धेरै समय खर्च गर्यो,’ उनले भने, ‘अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ ।’
संविधानले सबै आवाज राख्न पाउने सुविधा दिएको बताउँदै मन्त्री भट्टराईले हिंसा, आतंक र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उत्रने जो–कोहीलाई सरकारले स्वीकार गर्न नसक्ने बताए ।