सार्वजनिक सम्पत्ति कब्जा गर्न पाए मज्जा मान्ने चिन्तन र प्रवृत्ति हामीहरुभित्रै रहेको कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् । राजधानीमा आज आयोजित एक कार्यक्रममा उनले व्यक्तिहरुको गलत चिन्तनकै कारण सार्वजनिक सम्पत्ति रक्षा गर्न चुनौती रहेको बताए ।
‘हाम्राअघि अहिले एउटा चुनौती छ । सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? म तपाईंहरुलाई तोकेर भन्न चाहन्नँ । हामीभित्रै समस्या छन्,’ उनले भने, ‘सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिहरु छन् । यो गलत चिज हो । यसको विरुद्धमा वास्तवमा हामी सबैले जुध्नुपर्छ । सार्वजनिक सम्पत्ति सबैको सम्पत्ति हो । जनताको सम्पत्ति हो । त्यसको रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।’
पोखरेलले निर्वाचित प्रतिनिधिहरुले मात्र नभई निर्वाचित नभएका आम सचेत नागरिकले पनि सार्वजनिक सम्पत्तिको रक्षामा जोड दिनुपर्ने बताए ।