विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले नेपाली कांग्रेससँग २० कात्तिक २०७४ मा पार्टी एकीकरण गर्यो। पार्टी एकताताका गच्छदारलाई उपसभापति दिने वचन कांग्रेस सभापति शेरबहादुर देउवाले दिए। त्यहीअनुसार गच्छदारलाई देउवाले विधान मिचेरै भए पनि उपसभापति बनाए।
तर, गच्छदारसँग भएको सहमति दुई वर्ष बित्नै लाग्दासम्म पनि पार्टीका शीर्ष तहका नेताहरूले नै थाहा पाउन सकेका छैनन्। गच्छदारले समेत पटकपटक आफूसँग भएको लिखित सहमति पार्टी नेतृत्वले पालना नगरेको भन्दै दुखेसो गर्दै आएका छन्। उनले केन्द्रीय समिति बैठकमा घण्टाैंसम्म त्यही आशयको अभिव्यक्तिसमेत पोख्दै आएका छन्।
तर, कांग्रेस नेतृत्वले भने उनीसँगको सहमतिबारे निर्णयमा पुग्न भन्दै अर्का उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति नै बनाएको छ। सो समितिलाई सहमतिका विषयलाई टुंगाउने गरी अधिकार दिइएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपसभापति निधि नेतृत्वको समितिले समायोजनका विषयमा हालसम्म भएका प्रगतिबारे गत केन्द्रीय समिति बैठकमा जानकारी गराएको बताए। उनले अन्तरिम संरचनाको गठनसँगै एकताको बाँकी कामले समेत पूर्णता पाउने जानकारी दिए। राजधानी दैनिकमा खबर छ।