पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले राम शाह र पृथ्वीनारायण शाहप्रति बेजोडको आशक्ति देखाएका छन् ।
गृहजिल्ला गोरखा पुगेका भट्टराईले गोरखा दरबारको अवलोकनसमेत गरेका छन् । उनले गोरखा दरबारमा भइरहेको पुनर्निर्माण अलपत्र देख्दा आफ्नो मन कुँडिएको भन्दै केही तस्बिरसमेत फेसबुक पेजमार्फत सेयर गरेका छन् ।
उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, 'सत्रौं सताब्दीमा राम शाहले बनाएको र अठारौं शताब्दीमा पृथ्वीनारायण शाह जन्मेको/हुर्केको गोरखा दरबारको पुनर्निर्माण वर्षौंदेखि अलपत्र देख्दा कसको मन नकुँडिएला ?'
२०७२ वैशाख १२ को भूकम्पबाट क्षति पुगेको दरबार भत्काएर अहिले अलपत्र छाडिएको छ ।
उनले दरबारको अवलोकनपछि फेसबुकमा पृथ्वीनारायण शाह जन्मे/हुर्केको गोरखा दरबारको दुर्गति देख्नुपरेको उल्लेख गरेका छन् । 'स्थानीय जौवारीका श्रेष्ठ थरका ठेकेदार लामो समयदेखि गायब छन् तर सत्ताधारी पार्टी/नेताको आड़ पाएका ती ठूला माछालाई छोए जागीर/पदोन्नति धरापमा पर्ने डरले पुरातत्व विभागका हाकिम तैं चूप मैं चूप छन् !' उनले लेखेका छन्, 'गोरखाको प्रमुख पर्यटक आकर्षणको केन्द्रलाई सत्यानाश गरेर अझै समृद्धिको डिंग हाँक्ने कमरेडहरूलाई कति कुरीकुरी भन्ने !'
२०७४ कात्तिक २९ गते दरबार पुनर्निर्माणका लागि पचली शिवा जेभीले ठेक्का सम्झौता गरे पनि अहिलेसम्म जगसमेत बन्न सकेको छैन । दरबार यही मंसिर मसान्तभित्र निर्माण सकिसक्नुपर्ने सम्झौता थियो।