सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको बताएका छन् ।
नेपाल निर्माण व्यवसायी सङ्गठन प्रदेश नं ३ को घोषणासभालाई आज बनेपामा सम्बोधन गर्दै उनले अख्तियारलाई सक्रिय बनाइएका कारण भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने काम भइरहेको बताए ।उनले यसअघिका सरकारका समयमा पनि अख्तियार भए पनि यत्तिको सक्रिय नभएको दाबी गरे ।
विभिन्न निकायका कर्मचारीलाई काम छिटो र नाफामूलक बनाउने प्रवृत्तिका कारण भ्रष्टाचार हुने गरेको बताउँदै मन्त्री बाँस्कोटाले कसैले अनुचित रकम दिए वा लिएको जानकारी भएलगत्तै सरोकारवाला निकायलाई खबर गर्न आग्रह गरे ।
मन्त्री बाँस्कोटाले मन्त्रालयमार्फत चारवटा प्रदेशमा अप्टिकल फाइबर बिछ्याउँदा आफूले पनि निर्माण व्यवसायीबाट केही अप्ठेरो ब्यहोर्नुपरेको बताउँदै नाफामूलक सामाजिक सेवामा सरकारलाई नै सघाउनुपर्ने उल्लेख गरे ।