नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरमा हुने कास्कीको उपचुनाबमा कांग्रेस उमेद्वारलाई जिताउन गण्डकी प्रदेशका नेता तथा कार्यकतालाई निर्देशन दिएका छन्।
पोखरामा आजदेखि शुरु भएको नेपाली कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटनका अबसरमा सभापति देउवाले कांग्रेसजनहरु एक भएर लाग्ने हो भने कसैले चुनाब हराउन नसक्ने बताए।
गत चुनाबमा कम्युनिष्ट पार्टीले कहिल्यै पूरा नहुने नारा अघि सारेर झुठको राजनीति गरेको कुरा अहिले आएर जनताले बुझिसकेको भन्दै उनले आगामी दिनमा त्यस्ता झुठा नाराको पछाडि नलाग्न मतदाताहरुलाई आग्रह गरे।
विकास र समृद्धिको कुरा गर्ने नेकपाको सरकारले त्यस अनुसार सिन्को भाँच्न नसकेपछि मिडियाले गरेको आलोचना सहन नसकेर मिडिया काउन्सिल बिधेयक अघि बढाएको भन्दै कांग्रेसले कुनै पनि हालतमा सो बिधेक पारित हुन नदिने प्रतिबद्धता जनाए। अर्कातिर महान्यायाधीवक्ता कार्यालय मातहत राखेर मानव अधिकार आयोगलाई सक्ने रणनीतिमा सरकार लागि परेको उनको भनाई थियो।
उनले कास्कीमा कांग्रेस उमेद्वारलाई जिताएर कांग्रेसमा एकताको सन्देश दिनुपर्नेमा जोड दिए। कास्कीबाट कसलाई उठाउने भन्ने निर्णय भने कांग्रेसले गरिसकेको छैन। यहाँ उमेद्वारका आकांक्षी भने धेरै देखिएका छन्। सभापति देउवाले कास्कीको एउटा क्षेत्रमा एकजनाले मात्र टिकट पाउने हुँदा अरु आकांक्षीले सबै कुरा बिर्सेर कांग्रेस उमेद्वार जिताउन लागि पर्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले हिजोको चुनाब कम्युनिष्टहरुले सिद्धान्तको राजनीतिले चुनाब जितेको नभई जनतालाई झुठा आश्वासन बाँडेर जितेको बताए। त्यस्तो झुठको खेती गर्ने पार्टीलाई मतदान गरेर गल्ती भएको कुरा अहिले आएर जनताले महशुस गरेको उल्लेख गरे। कम्यनिष्ट शासनबाट निराश भएका जनतालाई कांग्रेसले भरोसा दिलाउनु पर्ने नेता पौडेलको भनाई थियो। तर यसका लागि देउवा कांग्रेस र पौडेल कांग्रेस हुन नहुने उनले बताए। नयाँ बिश्वासका साथ अघि बढ्ने हो भने कांग्रेसलाई कसैले हराउने नसक्ने दाबी गरे। यसका लागि कांग्रेसलाई भरोसको केन्द्र बनाउनु पर्ने पौडेलको प्रस्ताब थियो।
कार्यक्रममा कांग्रेस पूर्बमहामन्त्री कृष्णप्रसाद सिटौलाले बृहत ढंगबाट एकता कायम गरी नयाँ उत्साहका साथ नेतृत्व अघि बढेमा त्यसबाट कार्यकर्तामा उत्साह थपिने बताए। आफ्ना एजेण्डाहरुलाई स्पष्ट साथ लिएर जनतामाmभ गएमा भोलिका दिनमा कांग्रेसलाई कसैले हराउन नसक्ने उनको भनाई थियो।
प्रशिक्षण कार्यक्रम उद्घाटनका अबसरमा कांग्रेसका पूर्ब उपसभापति गोपालमान श्रेष्ठ, पूर्ब महामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्य कमला पन्त, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी लगायतले पार्टी एकतामा जोड दिएका थिए।
कार्यक्रममा कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले प्रशिक्षण कार्यक्रमको उदेश्यबारे प्रकाश पारेका थिए।
प्रशिक्षण कार्यक्रममा प्रतिष्ठानका प्रमुख एवं उपसभापति विमलेन्द्र निधि लगायत दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो।
प्रशिक्षणमा गण्डकी प्रदेशमा ११ जिल्लाका करिब ३५० जनाको सहभागिता रहेको छ।
कांग्रेसको सांगठनिक संरचना र विधान, पार्टीका महत्वपूर्ण प्रस्ताव र आर्थिक आधार लगायत वर्तमान सरकारको मूल्यांकन, जनतासंग संवाद र सम्पर्ककाबारेमा प्रशिक्षण दिइनेछ।