राजनीतिक गर्नु भनेको फकिर हुनु होइन भन्ने नेता हाम्रै मुलुकका प्रशस्त छन् । यसको मतलब राजनीति भनेको विलासी पनि त होइन। यद्यपि हाम्रा नेताहरु जनपक्षीय काम भन्दा पनि विलासीमै रुमल्लिइरहेको उनीहरुको गतिविधिबाटै पाउँछौं ।
कुनै नेता मुलुकबाहिर जाँदा आफूभन्दा कनिष्ठलाई विमानस्थलमा बिदाइ तथा स्वागत गर्न आइदेओस् भन्ने छ नै । अझ प्रधानमन्त्रीलगायत उच्च ओहोदाका व्यक्तिहरु त झन् चाकडीका भोगी हुने नै भए । आज पनि यस्तै भयो, जुन अनौठो रह्यो । हरेकपटक मुलुकबाट बाहिरिँदा होस् या आउँदा नै किन नहोस् प्रधानमन्त्रीले सेनाको सलामी खानु त चलनै भइसक्यो ।
तर, आज सिंगापुरबाट फर्किएका प्रधानमन्त्री ओलीले सेनाबाट पाइने सलामी लिन अस्वीकार गरे । सलामी त पिर्कामा लिइरहेकोसँगै अनौठा तवरले सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक भए पनि आज (सोमबार) प्रधानमन्त्री ओलीले सलामी लिन अस्वीकार गरे । उनकै भनाइमा यो निकै ताज्जुबको विषय बनेको छ ।
उसो त उनका आसेपासे तथा उनी निकटकाले निकै उदार हुन खोजेको भन्दै बढाइचढाइँ पनि भइरहेको छ । सेनाले प्रधानमन्त्रीलाई सलामी त दिइहाल्थ्यो तर उनीनिकट स्रोतका अनुसार आफू स्वास्थ्य उपचारका लागि गएको र भ्रमण अनौपचारिक भएकाले सलामीको आवश्यता नभएको भन्दै सलामी ग्रहण अस्वीकार गरेको बताएका छन् ।
थाइ एयरबाट दिउँसो सवा १२ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भने सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा नेता वामदेव गौतम, सुवास नेम्वाङलगायत मन्त्री तथा अन्य नेता विमानस्थल पुगेका थिए ।
प्रम ओली बोल्नै चाहेनन्
स्वास्थ्य परीक्षण सकेर सोमबार (आज) स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले यसपटक सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया पनि दिन मानेनन् । विदेश भ्रमणबाट स्वदेश फर्किंदा प्रधानमन्त्रीले पत्रकारलाई प्रतिक्रिया दिने चलन रहे पनि उनले आफू ठीकै रहेको र स्वास्थ्य पनि हेरेरै पत्ता लगाउन पत्रकारहरुलाई आग्रह गर्दै बाहिरिएका थिए । बेला न कुबेला के बोलुँ, के बोलुँ भइरहने प्रधानमन्त्री यसपटक नबोल्दा विमानस्थलमा पुगेका पत्रकारहरु पनि छक्क परेका थिए । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दै आएका थिए । उनका स्वास्थ्य परीक्षणका रिपोर्टहरु सबै राम्रो देखिएको निजी सचिवालय स्रोतको भनाइ छ ।