नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको काम करिब निष्कर्षतिर पुगेको बताएका छन् । उनले अब केही कामलाई मात्र औपचारिकता दिन बाँकी रहेको बताए ।
४१औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले मंगलबार कीर्तिपुरको चम्पादेवीमा गरेको कार्यक्रममा उनले पार्टी एकता गरी नेतृत्वलाई अझ परिपक्व बनाउने ठाउँमा आफूहरु आइपुगेको बताए । 'पार्टी एकता निकै सुझबुझपूर्ण निर्णयका आधारमा गरिएको छ,' दाहालले भने ।
एकताको काम सक्नेबित्तिकै उनले स्थायी र केन्द्रीय समिति बैठक बसेर देशव्यापी अभियानमा जाने पनि बताए ।
यस्तै उनले नेकपाका सबै नेता र कार्यकर्ताहरु पुष्पलाल श्रेष्ठका सन्तान र उत्तराधिकारी भएको बताएका छन् । विभाजन भएको पार्टी एकताबद्ध गर्ने र सशस्त्र किसान संर्घषमार्फत जनवादी क्रान्ति पूरा गर्ने पुष्पलालको सोचअनुसार विभाजित पार्टी एकताबद्ध बनाएर उत्तराधिकारी बन्ने काम गरेको दाहालको दाबी थियो ।