भेनेजुएलामा अहिले राजनीतिक संकट छ । भेनेजुएलाले आफ्नो मुलुकको राजनीतिक संकटको मूल कारक अमेरिका बताउँदै आएको छ ।
अमेरिकाविरुद्ध अन्तर्राष्ट्रिय अभिमत जुटाउन पछिल्लो समय भेनेजुएला कम्मर कसेर लागेको छ । अमेरिकाविरुद्ध विश्व समुदायलाई पार्न सकिन्छ कि भन्ने मनसायले १५ सदस्यीय टोलीसहित भेनेजुएलाका राष्ट्रपति निकोलस मुडुरोका पुत्र निकोलस अर्नेस्टो मुडुरो गुयरा शनिबार नेपाल आए ।
नेपाल आएको राष्ट्रपति–पुत्र मुडुरोको टोली मंगलबार भने चीन हुँदै उत्तर कोरियातर्फ लागेको छ । अर्थात् कम्युनिस्ट सरकार भएका मुलुकबाट सहानुुभूति बटुल्न अर्को कम्युनिस्ट मुलुक भियतनाम हुँदै उनीहरूले यो दौडधूप आरम्भ गरेका हुन् । यद्यपि उनीहरूले युवा संघ नेपालको निम्तोमा एक कार्यक्रममा सहभागी हुन नेपाल आएको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएदेखि नै यो भ्रमणलाई गुपचुप गर्ने प्रयास नेकपाका नेताहरूले गरेका थिए । तर, युवा संघका केही कार्यकर्ताले कार्यक्रमको लाइभ नै गरेपछि मुडुरको नेपाल भ्रमण चर्चित बन्न पुुग्यो । मडुरो उत्तर कोरिया हिँडे पनि चर्चा भने सेलाएको छैन, बरु झनै तातिएको छ । विवादास्पद मुलुुक भेनेजुुएलाका राष्ट्रपतिको छोरालाई नेपालका ३–३ पूर्वप्रधानमन्त्रीेले पालैपालो विशेष महत्व साथ भेटेर संवाद गरेकाले पनि यो विषय थप चर्चामा आएको हो । याक एन्ड यति होटलको एक कार्यक्रममा सहभागी भएर पूर्वप्रधानमन्त्री झलनाथ खनालले उनको महत्व अझ बढाइदिए ।
भोलिपल्ट अर्का पूूर्वप्रधानमन्त्री पुुष्पकमल दाहालले आफ्नै निवास खुमलटारमा ‘ब्रेकफास्ट मिटिङ’ गराएर राष्ट्रपति पुत्रलाई खुसी बनाए । भेटमा अध्यक्ष दाहालले आफूहरू भेनेजुएलाकै पक्षमा रहेको मात्र होइन, राष्ट्रपतिलाई नेपाल भ्रमण गराउनुुपर्नेसमेत बताएका थिए ।
सोही दिन माधवकुमार नेपालसँग पनि उनीहरूको भेट भयो । यसैगरी वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, दिननाथ शर्मासँग पनि सो प्रतिनिधिमण्डलले छुट्टाछुट्टै भेटवार्ता गरेको थियो ।
३ पूूर्वप्रधानमन्त्रीले विशेष महत्व साथ भेट दिएपछि पुलकित भएको मुडुरो–पुत्र प्रतिनिधिमण्डलले नयाँ बानेश्वरमा रहेको संघीय संसद भवन पुगेर नेपालको संसदीय अभ्यासबारे नेकपाका सांसदहरूसँग छलफल गर्नसमेत भ्याए ।
सो भेटपछि नेपाल र भेनेजुएला दुवै देशले संविधानसभाबाट संविधान निर्माण गरेको र समाजवादको दिशातर्फ अग्रसर भइरहेको हुँदा अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणा बनाएर ऐक्यबद्धता साथ मिलेर जाने विषयमा छलफल भएको भेटपछि नेकपाका सांसद बलराम बाँस्कोटाले पत्रकारहरूलाई जानकारी दिएका थिए ।
दक्षिण अमेरिकी मुलुक भेनेजुएला झन्डै ६ महिनादेखि राजनीतिक संकटमा फसेको छ । गत माघमा राष्ट्रिय सभामा विपक्षी नेता हुवान गुवाइदोले सरकारविरोधी एक प्रदर्शनका क्रममा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेको केही घण्टामै अमेरिकाले ३५ वर्षीय हुवानलाई राष्ट्रपतिको वैधानिकता दिएको थियो । तर, रुसलगायत मुलुक भने त्यसको विपक्षमा थिए । यसले गर्दा विश्व ध्रुुवमा विभाजित भएको थियो ।
यो विवादमा नेपाल पनि मज्जैले मुछिएको थियो । सो घटनापछि नेकपाका अर्का अध्यक्ष पुुष्पकमल दाहालले विज्ञप्ति निकालेरै मडुरोको समर्थन जनाएका थिए ।
भेनेजुएलाका जनता, राष्ट्रको सार्वभौम सत्ता र चुनावबाट निर्वाचित वैधानिक राष्ट्रपतिका पक्षमा नेकपाले यो विज्ञप्ति जारी गरेको छ भन्दै ‘जनतालाई विभाजित गरी प्रजातन्त्र सर्वभौम सत्ता र शान्तिलाई चुनौती दिई हिंसा बढाउने मनसायसहित भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका गठबन्धन राष्ट्रले गरेको हस्तक्षेपको भत्र्सना गर्दछ,’ दाहालले जारी गरेको विज्ञप्तिमा थियो ।
त्यसपछि नेपालस्थित अमेरिकी दूूतावासले भेनेजुएला प्रकरणबारे नेपाल सरकारको आधिकारिक धारणा के हो भनेर परराष्ट्र मन्त्रालयसँग सोधेको थियो । यही प्रकरणमा परराष्ट्रले सरकारको आधिकारिक धारणा नभएको स्पष्टीकरण दिएपछि अध्यक्ष दाहालले गल्ती स्वीकारेका थिए ।
मडुरो तिनै राष्ट्रपति हुन् जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस कब्जा गर्ने धम्की दिएका थिए । यसपटक उनका छोराको नेपाल भ्रमणले फेरि पनि अमेरिका रुष्ट बन्ने अवसर पनि दियो, जुन पक्का छ । नेपालसँग व्यापार, व्यवसाय वा अन्य कुुनै साइनो सम्बन्ध नभएको एउटा सानो मुलुुकका पछाडि नेपालका कम्युनिस्ट पार्टीका नेताहरू किन पछाडि दौडिरहेका छन् ? जसका कारण वर्षौं पुरानो सम्बन्ध भएको अमेरिका जस्तो हितैषी मुलुुकको सरकार रुष्ट भएको छ । ६ महिनाअघि भेनेजुएलाको समर्थनमा वक्तव्य निकालेर गल्ती भयो भनी स्वीकार्ने नेकपाका नेता मात्र होइन, ३–३ पूर्वप्रधानमन्त्रीले विशेष महत्व साथ राष्ट्रपति मुडुरोका पुत्रलाई भेट दिएको विषयले अमेरिकी सरकार रुष्ट हुने देखिन्छ । यो कुरा जानीजानी पूर्वप्रधानमन्त्रीहरू दाहाल, नेपाल र खनालको कदमबाट अमेरिकासँग नेपालको कूटनीतिक सम्बन्धमा दीर्घकालीन असर पर्ने पक्का छ ।
त्यसैले होला नेकपाका एक केन्द्रीय नेता सूूर्य थापाले मडुरो पुत्रको ३ पूर्वप्रधानमन्त्रीसँगको भेटलाई सामाजिक सञ्जालमा असारमा खेलिएको देउसी–भैलो भन्दै व्यंग्य गरेका छन् । उनले प्रश्न गरेका छन् ‘राष्ट्रपति नै आएको भए कमरेडहरू के के गर्थे होलान् ?’