अविरल वर्षाका कारण आएको बाढीबाट पीडितहरूको अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिसहितको टोली प्रदेश नम्बर २ का जिल्लामा पुगेको छ।
सभापति देउवा आज बिहान सिमरा हुँदै रौतहट पुगेका छन् भने उपसभापति निधि मंगलबार धनुषा पुगेर बाढी पीडितहरुसंग भेटघाट गरी उनीहरुको अबस्था बुझेर आजै रौतहट पुगेका हुन्।
सभापति देउवा, उपसभापति निधिसहित प्रदेश नंबर २ का जिल्लाका कांग्रेस सभापतिहरुले आज बिहान रौतहटको गढिमाई र पिपरा नगरपालिका पुगेर पीडितहरुसंग भेटघाट गरेका छन्।
बाढी प्रभाबित क्षेत्रमा सरकारको उपस्थिति नभएको भन्दै नेताहरुले आफ्ना कार्यकर्तालाई राहत र उद्धार कार्यमा जुट्न आग्रह गरेका छन्। सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार सभापति देउवा अझै तीन चार दिन तराईका बाढी प्रभाबित जिल्लामा पुगेर पीडितहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
मन्त्री तथा सांसदको टोली पनि बाढी प्रभावित क्षेत्र पुग्यो
यसैबीच बाढी प्रभावितको अवस्था बुझ्न तथा अनुगमनका लागि मन्त्री र सांसदहरुको टोली तराईका जिल्लाहरु पुगेका छन् । बाढीपहिरोले पुर्याएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्न पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनलगायतको टोली तराईका जिल्ला गएको हो ।
यस्तै यो टोलीमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संसदको विकास समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साहलगायत पनि छन् ।
असार २७ देखि आएको अविरल वर्षापछि आएको बाढी र डुबानले प्रदेश २ का जिल्ला प्रभावित भएका छन् । बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या देशभर झन्डै ७० पुगेको छ । हजारौं विस्थापित भएका छन् ।