चीन भ्रमणमा रहेका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन्।
भ्रमणका क्रममा मुख्यमन्त्री पाेख्रेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच मङ्गलबार भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेकाे भ्रमणदलका सदस्य तथा उनका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।
सो अवसरमा मुख्यमन्त्री पाेख्रेलले यस समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पुर्याउन बल पुग्ने विश्वास व्यक्त गरे। त्यसैगरी सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो र घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै यो समझदारीले भविष्यको उज्यालो मार्ग कोरेको बताएका थिए।
मुख्यमन्त्रीले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश पनि सुनाए। उनले गभर्नर लीलाई प्रदेश नं ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गरेका थिए। साथै भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको बताउँदै छेन्दु-भैरहवाबीच सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरे।
मुख्यमन्त्री पाेख्रेलसँग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमहानिर्देशक से सङले पनि मङ्गलबार भेटवार्ता गरेका छन्।