बजेट भाषणमा समावेश विषयवस्तु सरकारले वार्षिक विकास कार्यक्रम पुस्तिका (रेडबुक) मा छुटाएको भन्दै विरोधपछि गण्डकी प्रदेश सभाको बैठक दोस्रो दिन आइतबार पनि स्थगित भएको छ । गत शुक्रबार सूचना टाँसेर बैठक स्थगित गरिएकोमा आइतबारसमेत त्यसैले निरन्तरता पाएको छ।
कांग्रेस सांसद कुमार खड्का वक्तव्यमा किटान गरिएका विषय पुस्तिकामा सम्बोधन नै नगर्नु नीति र कानुनसम्मत नहुने बताउँछन् । सिँचाइतर्फ क्रमागत १ सय १४ र आगामी आर्थिक वर्षका लागि नयाँ छनौट गरिएका १ सय ३० गरी जम्मा २ सय ४४ सतह सिँचाइ योजनालाई बजेट वक्तव्यमार्फत् सार्वजनिक गरियो । ती आयोजनासँगै ४० भूमिगत जलसिँचाइ योजना, भूमिगत ट्युबवेल, पम्प खरिद र सञ्चालन घर (अपरेसन रूम) निर्माणका लागि अर्ब ९ करोड विनियोजन पनि गरिएको छ । वक्तव्यमा २ सय ४४ वटा योजना सञ्चालन गर्ने भनिएकोमा पुस्तिकामा जम्मा १ सय ८६ सिँचाइ आयोजनामात्र उल्लेख गरिएका छन्। कास्की, नवलपुर र तनहुँमा त सिँचाइका कार्यक्रम एउटा पनि पारिएको छैन।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारले ल्याएको बजेट पुस्तिकामाथिको त्रुटि सच्याउन माग गरिरहेको छ । बिहीबार सरकारले विकास कार्यक्रम पुस्तिका जारी गरेपछि कांग्रेसले शुक्रबारको सदनमा बोल्ने समय मागेको थियो । बोल्न नदिए संसद नै अवरुद्ध पार्ने तयारीमा कांग्रेस लागेपछि शुक्रबार सूचना टाँस गरी संसद स्थगित गरियो।
‘रेडबुक संवैधानिक, कानुनी र व्यवहारिक रुपले त्रुटिपूर्ण छ । यसले सांसदका भावना पनि समेटेको छैन,’ प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल भन्छन्, ‘सुधार्नु पर्ने ठाउँमा सुधार गर भन्ने तयारीमा हुँदा संसद नै स्थगित हुन्छ । सरकार सच्चिनै चाहँदैन ।’
रेडबुकमा भएका त्रुटि सच्याउन र असहमतिका विषयमा छलफल गर्न शनिबार मुख्यमन्त्रीसहितको बैठक पनि बसेको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अर्थमन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, मन्त्रालयका सचिव, कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीसहितको बैठकले बजेटका विषयमा छलफल गरेको थियो । कांग्रेसले रेडबुकमा देखाएका कतिपय त्रुटि सरकार मिलाउने पक्षमा रहेको आशय मुख्यमन्त्री र अर्थमन्त्रीले दिएका थिए । कांग्रेसले भनेझैं ठूलो त्रुटि नभएको र सबै कुरा विकास कार्यक्रम पुस्तिकामा नआउने अर्थमन्त्री गुरुङको भनाइ थियो ।