नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले पदबाट राजीनामा दिएका छन्।
आगामी असार २७ गते संघको साधारणसभा र निर्वाचनको मिति तोकिएको सन्दर्भमा शनिबार अवेर सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै उनले आफ्नो दुई वर्षे कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै प्रथम उपाध्यक्ष राम प्रसाद भान्तनालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर विदा भएको उल्लेख गरेका छन्।
अध्यक्ष गुरुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टबीच राम्रो सम्बन्ध नहुँदा पनि उनलाई काम गर्न अप्ठेरो परेको थियो। यी दुईबीच मलेसियाको रोजगारी खुलाउने विषयमा पटक पटक विवाद हुँदै आएको थियो। व्यवसायीहरुले मलेसियाको रोजगारी खुलाउन माग गर्दै आएका थिए भने सरकारले झन्झटिलो प्रक्रिया अपनाउँदा १ वर्षदेखि रोजगारी ठप्प रहेको छ।
२१ दिन मात्रै कार्यकाल बाँकी रहेका बेला गुरुङको राजीनामाले वैदेशिक रोजगार व्यवसायी माझ नयाँ तरंग ल्याएको छ। गुरुङले सामाजिक सञ्जालमा राजीनामा बारे यसरी उल्लेख गरेका छन्।
‘दुई वर्ष नेतृत्वमा रहँदा म र मेरो कार्यसमितिलाई साथ र सहयोग गर्नु हुने विभिन्न राजनीतिक पार्टिका आदरणीय नेताज्युहरु, रास्ट्रसेवक कर्मचारीज्युहरु, व्यवसायी साथीहरू र पत्रकारमित्रहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। बाँकी २१ दिन कार्यकाल रहेको आजबाट प्रथम उपाध्यक्षलाई कार्यबाहक दिएर बिदामा बस्ने निर्णय गरेको छु। जान अन्जानमा कसैको चित्त दुखाएको भए माफ गरि दिनु होला। सबैको जय होस्।’