नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लाई अधिनायकवादको संस्कार त्याग्न आग्रह गरेका छन् ।
भक्तपुरको सिर्जनानगरमा आयोजित कार्यक्रममा उनले भने, “नारायणमान बिजुक्छेजी अधिनायकवादको संस्कार कार्यकर्तालाई नदिनुस्, अहंकार, दमनकारी, दास प्रवृत्तिले हुर्किंदै गए त्यसको परिणाम विस्थापन नै हो, त्यो बाटोतिर नलाग्नुस् ।”
आफ्ना प्रतिपक्षलाई पनि उत्तिकै सम्मान गरे पनि दिगो रहने टिप्पणी गर्दै उनले एकाधिकार कायम गर्ने, दम्भको घोडामा हिँड्ने र अरुको मुख बन्द गराउन खोजे आफैँ समाप्त हुने भनाइ राखे ।
उनले सरकार विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्दै आधुनिकता तथा नवीनतम उपलब्धि हासिल गर्न लागिरहेको उल्लेखसमेत गरे । उनले स्वास्थ्य, कृषि, वातावरण, शिक्षा, उत्पादन, बजारीकरणजस्ता जुनसुकै क्षेत्रको सूचना प्रवाह तथा जनचेतना फैलाउन पनि प्रविधिको प्रयोग प्रभावकारी हुने बताए । -रासस