सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र स्वतन्त्र प्रेसमाथि अप्ठ्यारो पार्ने सरकारको कुनै नीति नरहेको बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै सरकारले कसैलाई अप्ठेरो नवनाएको र प्रेसमाथि कहीँबाट पनि कुनै खतरा नरहेको दाबी गरेका हुन्।
आमसञ्चार माध्यमलाई ऐनमार्फत व्यवस्थित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले सञ्चार क्षेत्रमा देखिएको आन्तरिक तथा बाह्य चुनौतीले धेरै समस्या सिर्जना गरेको बताए । मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा आएका सकारात्मक कुरालाई सम्बोधन गरिने विश्वास दिलाउँदै लोक कल्याणकारी विज्ञापनमा कुनै विभेद नगरिएको स्पष्ट पारे। उनले फोर जीका लागि करीब चार हजार एक सय वटा टावर थपिने बताए।