भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मुलुकका विभिन्न समुदायको धार्मिक र सांस्कृतिक तथा गुठीको मर्म र भावनामा कुनै असर नपरोस् भन्नेमा सरकार सचेत रहेको बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत भूमि व्यवस्था मन्त्रालयमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारका तर्फबाट एउटा सङ्कल्प व्यक्त भइसकेको भन्दै धर्म, परम्परा, मान्यता र मठमन्दिरसँग जोडिएको मर्म एवं भावनानुकूल काम गर्न सरकार कति पनि विचलित नरहेको बताइन्।
फरक प्रसंगमा उनले देशको आफ्नै स्रोतसाधन प्रयोग गरेर सगरमाथाको उचाइ नाप्ने काम भइसकेको बताइन्। सरकार भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न प्रतिबद्ध रहेको भन्दै उनले एक लाख ५२ हजार भूमिहीन घरपरिवारलाई जग्गा वितरण गरिसकिएको तथा मुक्तहलिया र कमैयाको हकहितका पक्षमा काम गरिने बताइन्।
सरकारी र सार्वजनिक जग्गाको संरक्षणका लागि समिति गठन गरिसकिएको र मुलुकका ६६ मालपोत कार्यालयमा कम्प्युटरका माध्यमबाट काम सुरु भइसकेको उनले बताइन् । मोहियानी हकलाई स्थापित गर्ने सन्दर्भमा कानून बनाउनेतर्फ सरकार अघिबढेको बताउँदै उनले गरीब लक्षित कार्यक्रमलाई सबैभन्दा पछि परेको समुदाय र स्थानबाट सुरु गरिने बताइन् ।
उनले भूउपयोग ऐनमार्फत चक्लाबन्दी शुरु भएको र त्यस्तो काममा लाग्नेलाई प्रोत्साहन गर्ने काम भइरहेको बताउँदै भूउपयोगलाई व्यवस्थित गरी उत्पादकत्व र आर्थिक वृद्धि हासिल गरिने बताइन्।