राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी चुनावमा पार्टीलाई देशको अग्रणी शक्ति बनाउने दाबी गरेका छन् । यही संकल्पसहित हिन्दुत्व र राष्ट्रवादको एजेन्डा बोकेर जनताको घरदैलोमा जान थापाले कार्यकर्तालाई निर्देशन दिएका छन् ।
हेटौंडामा मंगलबार कार्यकर्ता भेटमा उनले कांग्रेस, कम्युनिस्ट दुवै असफल भएकाले अब जनता पनि वैकल्पिक पार्टीको खोजीमा रहेको दाबीसमेत गरे । ‘राप्रपा नै त्यो विकल्प हो,’ उनले भने, ‘आउनुस् सबै मिलेर ईख राखेर काम गरौं ।’
थापाले सरकारमा बस्नेहरुसँग अहंकार र उन्माद बढी भएकाले सरकार दिनप्रतिदिन अलोकप्रिय हुँदै गएको बताए । गुठी, मिडिया काउन्सिल, नागरिकता, सेना परिचालनसम्बन्धी विधेयकलगायत काममा सरकारको अदूरदर्शी नीति रहेको थापाको भनाइ थियो ।