राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगले योग्यता, निष्पक्षता र स्वच्छताका साथ काम गर्नुपर्ने बताएकी छन् ।
उनले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वास समुन्नत बनाएर काम गर्नुपर्नेमा जोड दिइन् ।
लोकसेवा आयोगको ६९औं वार्षिकोत्सवमा उनले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवाले काम गर्नुपर्ने बताइन् । 'परीक्षा प्रणालीको सुधार तथा नवीनतम् प्रविधि उपयोग गरी योग्य र सक्षम व्यक्ति सार्वजनिक सेवामा प्रवेश गर्नेप्रति म विश्वस्त छु,' राष्ट्रपति भण्डारीले भनिन्, 'परीक्षा प्रणालीलाई समयसापेक्ष बनाउँदै लैजानुपर्छ ।'
उनले संवैधानिक जिम्मेवारी पाएको आयोगको काम कारबाहीलाई थप मजबुत बनाउन सरकार र सम्बद्ध सबैले सहयोग गर्ने विश्वास लिएको बताइन् । आयोगले जनताको विश्वास जितेर परीक्षा सञ्चालन गरिरहेको उनको विश्वास थियो । उनले भनिन्, 'जनविश्वास पनि त्यहीअनुरुप कायम छ, भविष्यमा थप जनविश्वासका काम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्छु ।'
अध्यक्ष मैनाली भन्छन्, 'आयोगको जनविश्वास कमजोर पार्ने प्रयास भयो'
आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगले झन्डै ७ दशकको यात्रामा विभिन्न घुम्ती, उकाली, ओराली पार गर्दै आएको अवस्थामा अहिले फेरि जनविश्वासको जग कमजोर पार्ने प्रयास भएको बताए । उनले संविधान, कानुन र स्थापित परम्पराअनुरुप आयोगले गरेको स्थानीय तहको विज्ञापनमा विनाकारण प्रश्न उठाएको र संवैधानिक अङ्गले संविधान र प्रचलित कानूनको उल्लंघन गर्ने कल्पनासमेत गर्न नसक्ने स्पष्ट पारे ।
अध्यक्ष मैनालीले योग्यता, निष्पक्षता र स्वच्छताको मूल मर्मलाई आत्मसात् गरेर काम गर्न शान्त, स्वच्छ र दबाबरहति वातावरण जरुरी हुने बताएका थिए । ७७ वटै जिल्लामा आयोगले अनलाइन दरखास्त दिन र उम्मेदवारको जनुसुकै बैंक खातामा रहेको रकम इन्टरनल बैंक पेमेन्ट प्रणाली प्रयोग गरी राजस्व खातामा पुग्ने व्यवस्था गरिएको मैनालीले जानकारी दिए । आयोगको स्थापना २००८ असार १ भएको हो ।