नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विगतको इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास गर्न नसक्ने बताएका छन् ।
उनले कांग्रेसले आफूलाई विधि-विधानअनुसार नचलाए, नयाँ संरचनामा नलगे र आन्तरिक कलह समाप्त नपारेसम्म तिहासलाई भजाएर आफूतिर तान्न नसकिने बताए । नेपाली कांग्रेस सुर्खेतले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता सिंहले कांग्रेस आफू पनि सच्चिन तयार रहनुपर्नेमा जोड दिए ।
उनले २००७, २०३६, २०४६ सालको इतिहास भजाएर जनताले विश्वास गर्न नसक्ने र त्यसका लागि पार्टीभित्रको सुधार गरी, विधि विधानबाट चलाएर मात्रै कांग्रेस एकढिक्का बनाउनुपर्ने बताए । गाउँ जागरण अभियानका क्रममा कार्यकर्ताहरुले कांग्रेसलाई संस्थागत सुधार गर्नुपर्ने, पार्टीको आन्तरिक कलह मेटाउनुपर्नेजस्ता सुझावहरु आएको हुँदा नेतृत्व तहले गम्भीर भएर सोच्नुपर्ने सिंहले बताए । उनले नेतृत्वले कसैलाई काखा-पाखा गर्न नहुने बताए ।
यसैगरी उनले संसदमा कांग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको दाबीसमेत गरे । दुईतिहाइको सरकारले गरेको मनपरी र अधिनायकवाद शैलीको कदमको सशक्त प्रतिकार गर्दै आएको उनको भनाइ छ । ओली सरकारले एकपछि अर्को गर्दै विभिन्न विधेयक ल्याएर अधिनायकवाद लाद्न खोजेको सिंहको आरोप थियो ।
आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि उनले बताए । कांग्रेसले नै संविधान जारी गरेको हुँदा त्यसको पालना र रक्षा गर्ने प्रमुख दायित्व पनि कांग्रेसकै रहेको भन्दै उनले संविधानमाथि धावा बोल्नेविरुद्ध जाइलाग्ने बताए । कांग्रेस सुर्खेत सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानी, पूर्वमन्त्री खड्गबहादुर बस्याल, पार्टीका पूर्वसभापति गोविन्दबहादुर मल्लगायत नेता कार्यकर्ता सहभागी थिए ।