सन् २०१४ मा भएको भारतीय लोकसभा चुनावबाट नरेन्द्र मोदी एकाएक उदाए। भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारको बागडोर सम्हालेका मोदीले आफ्नो शपथ ग्रहण समारोहमा विभिन्न मुलुकका राष्ट्र प्रमुखलाई निम्त्याए। फलस्वरुप उनले सार्क मुलुकका राष्ट्रप्रमुखहरुलाई त झनै छुटाएनन्।
उनको निम्तो मान्न नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी बने। लामो समयदेखिको दुस्मनी खेपिरहेको पाकिस्तान पनि मोदीको शपथ ग्रहण समारोहमा पुग्यो। भारत-पाकिस्तान तनाव लामो समयदेखि कायम रहे पनि पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ उनलाई बधाई दिन नयाँदिल्ली पुगे। मोदीको निम्तो स्विकार्दै सरिफ नयाँदिल्ली पुगेपछि मोदीले उनलाई राम्रैसँग स्वागत गरे। मित्रताको नयाँ सुरुवात भएको भन्दै दुस्मनी बिर्सिए। अहिले भने त्यसबखत भन्दा विवादको चरम उत्कर्समा भारत-पाकिस्तान छन्।
भारतमा पुन: मोदी नेतृत्वमै सरकार बन्दैछ। मोदीले यसपटक सार्कमुलुकका राष्ट्रप्रमुखलाई आफ्नो शपथ ग्रहण समारोहमा निम्तो देलान् या नदेलान् यो सबैको चासोको विषय बनेको छ।
मोदीले २६ मे २०१४ देखि भारतको १५औं प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालेका हुन्। उनले २०१४ मा शपथ गरेकै दिन ४५ मन्त्रीले पनि शपथ लिएका थिए। सो शपथग्रहण समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सबै राष्ट्रका कार्यकारी प्रमुखलाई निम्तो गरिएको थियो।
उक्त समारोहमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री कोइराला, पाकिस्तानी तत्कालीन प्रधानमन्त्री सरिफ, श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्द्रा राजपक्षे, अफगानिस्तानका तत्कालीन राष्ट्रपति हमिद कारजाई, भुटानका तत्कालीन प्रधानमन्त्री छिरिङ्ग तोग्बे, बंगलादेश संसदका तत्कालीन सभामुख सिरिन सर्मिन चौधरी र मोरिससका प्रधानमन्त्री नवीनचन्द्र रामगुलामलगायतको सहभागिता थियो। बंगलादेशकी प्रधानमन्त्री बेगम खालिदा जियाको जापान भ्रमणको पूर्वनिर्धारित कार्यक्रम भएकाले आफ्नो साटो सभामुख चौधरीलाई भारत पठाएकी थिइन्।
राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण समारोहमा मोदीले आफ्ना विदेशी मित्रहरुसँग आफ्नो सरकारको विदेश नीतिका प्राथमिकताबारे बताएका थिए। त्यसबेलाको शपथ ग्रहण समारोहमा ४ हजार भीभीआईपीको सहभागिता थियो।
मोदीको दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा पाकिस्तानको सहभागिता रहने सम्भावना न्यून देखिन्छन। यद्यपि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समकक्षी मोदीलाई चुवानी जितप्रति ट्वीटमार्फत बधाई भने दिइसकेको अवस्था छ। खानको ट्विटको जवाफ मोदीले पनि सौहार्दपूर्ण रुपमा दिएबाट कथं मोदीले आफ्नो शपथ ग्रहण समारोहमा पाकिस्तानलाई निम्तो दिए त्यहाँका प्रधानमन्त्री खान सहभागी हुन सक्ने सम्भावना पनि उत्तिकै देखिन्छ। तर, यस विषयमा भारतीय पक्षबाट औपचारिक धारणा भने बनिसकेको अवस्था छैन।
छिमेक र छिमेकीसँग कस्तो व्यवहार गर्नुपर्छ भनेर मोदीले राम्रोसँग बुझेका छन्। उनले छिमेक सम्बन्ध सुधारकै लागि पनि सार्कमुलुकका राष्ट्र प्रमुखलाई आफ्नो दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा बोलाउने सम्भावना पनि उत्तिकै देखिन्छ।