भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले भारतमा नरेन्द्र मोदीको निरन्तरता नेपालका लागि अवसर भएको बताएका छन्।
‘माोदीले नेपाल बुझेका छन्। नेपाल सम्बन्ध उनी आफैं हेर्छन्,’ उपाध्यायले भने, ‘नेपालले यसबाट धेरैभन्दा धेरै लाभ लिन सक्नुपर्छ।’
उनले राजनीति कूटनीतिक कलालाई कौशलता र चातुर्यताको संगम भएको बताए। कसरी जनता र राष्ट्रलाई फाइदा पु¥याउन सकिन्छ भन्ने कुरा ध्यान दिनुपर्ने उनको धारणा छ। ‘भारतमा नरेन्द्र मोदीको निरन्तरता हुनु भनेको नेपालका लागि अवसर पनि हो,’ स्पेसखबरसँग कुरा गर्दै उनले भने।
भारतबाट नेपालले कसरी लाभ लिन सक्ला त भन्ने प्रश्नमा उनी भन्छन्, ‘सजिलो छ, समस्या उताभन्दा पनि हामीभित्रै छ।’ नेपाल–भारत सम्बन्ध सहज बनाउन दुवै पक्ष प्रतिबद्ध रहन आवश्यक हुने उनको भनाई छ।
उत्पादन बढाएर यहाँका वस्तु भारतमा निर्वाध निर्यात गर्ने वातावरण मिलाउन हाम्रो आवश्यकता रहेको उनको बुझाइ छ। ‘नेपाल–भारत सम्बन्ध पहिलेभन्दा अहिले सही बाटोमा अघि बढ्दै छ। अब प्रस्ट ढंगले नेपालका उत्पादन भारतीय बजारमा जाने वातावरण बनाउन जरुरी छ,’ पूर्वराजदूत उपाध्यायले भने, ‘यसका लागि केही निर्णय हुनु पर्दछ। त्यस्तो निर्णय भारतीय प्रधानमन्त्री मोदीबाट गराउन नेपालले अब सक्नुपर्छ।’
हिजो पनि भाजपा नेतृत्वमै रहेको र आज पनि निरन्तर हुनु त्यहाँको जनमत रहेको उनको बुझाइ छ। ‘भाजपाको सरकार बन्दा नेपालमा हिन्दूवादी शक्ति खुसी हुनु स्वभाविक हो। भाजपाको लक्ष्य भनेको कम्तिमा विश्वमा एउटा देशमा हिन्दू राज्य हुनुपर्छ भन्ने हो र त्यो नेपाल भन्नेमा उनीहरू थिए पनि,’ उपाध्याय भन्छन्, ‘तर अहिले नेपालमा संविधान बनेर गणतन्त्र र धर्मनिरपेक्षता उल्लेख गरिसकेपछि संविधानभन्दा बाहिर जान मिल्दैन।’
‘राजनीतिमा नाटक मञ्चन पनि हुन्छ। जसले राम्रोसँग नाटक मञ्चन गर्न सक्छ उसलाई सफलता हात पर्छ। नेपालमा चुनाव हुँदा केपी ओलीले जुन किसिमले नाटक मञ्चन गरे त्यसको सफलता हात पारेका हुन्। अहिले त्यस्तो अवस्था छैन। अब नेपाल सरकारले हिजोको दिनभन्दा आजबाट दृष्टिकोण परिवर्तन गर्छ,’ नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको सम्बन्धबारे उपाध्याय भन्छन्, ‘जहिले पनि राष्ट्रको हित हेर्नुपर्छ। समस्या नेपालमै छ। ओलीको पार्टीभित्र पनि एक मत छैन। संसद्भित्र, राजनीतिक दलहरू जो भए पनि नेपालको परराष्ट्र नीति एक हुन जरुरी छ।’
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्रीसमेत रहीसकेका उपाध्याय राजनीतिलाई कलाका रूपमा व्याख्या गर्छन्। मोदीले पनि नेपालमा मत परिणाम सार्वजनिक नहुँदै सुष्मा स्वराजलाई पठाएर केपी ओलीलाई बधाई दिएका थिए। सोहीअनुसार ओलीले पनि मोदीलाई हतार गरी बधाई दिएको उपाध्यायको विश्लेषण छ।