नेपालका विभिन्न सञ्चार माध्यममा आवद्ध सम्पादकहरुको समूहले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै संसदमा पेश भएको प्रेससम्बन्धी विधेयक लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म भावनाविपरीत रहेको जनाएका छन् ।
‘सरोकारवालाहरूसँग कुनै छलफल नगरी, प्रेसमाथि सरकार सर्वेसर्वा हुने गरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र सरोकारवालासँगको परामर्शमार्फत यो विषय सम्बोधन गर्न हामीसम्पादकहरु सरकारसँग माग गर्दछौं’, विज्ञप्तीमा भनिएको छ ।
नेपाल पत्रकार महासंघ तथा पत्रकारितासम्वद्ध अन्य संस्थाले विधेयकको विरोधमा सुरु गरेको आन्दोलनमा सम्पादक समूहको पनि ऐक्यवद्धता रहेको विज्ञप्तिमा जनाइएको छ ।
‘पत्रकारिता क्षेत्रका कतिपय विकृत र असंयमित अभ्यासप्रति हामी सचेत छौं। त्यस्ता विकृति सम्बोधन गर्ने विधि विकासको आवश्यकताबारे हामी उत्तिकै प्रष्ट छौं,’ विज्ञप्तीमा उल्लेख छ ।
‘जनताको लोकतान्त्रिक अधिकार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको रक्षा तथा सम्वर्धनका लागि नेपालका पत्रकार दशकौंदेखि क्रियाशील छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेकोप्रेसको अधिकारको रक्षा गर्न हामी सम्पादकहरु प्रतिबद्द छौं,’ विज्ञप्तीमा भनिएको छ