कर्णाली प्रदेश सरकारले आव ०७६/७७ का लागि ३० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा कानुन मन्त्रालयले चालू आवमा खर्च हुन नसकेको बजेटसमेत जोडेर आगामी वर्षका लागि बजेट ल्याउने तयारी गरेको हो ।
बजेट तयारीका लागि मन्त्रालयले जिल्लास्तरमा छलफल चलाइरहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यस वर्षको बजेट कार्यान्वयनमा देखिएका समस्याबाट पाठ सिकेर आगामी वर्षका लागि परिणामुखी बजेट ल्याउने बताए ।
संघीय सरकारले आगामी आवका लागि बजेट ‘सिलिङ’ पठाइसकेको छ । वित्तीय समानीकरणमा ९ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ र राजस्व बाँडफाँटमा ७ अर्ब ४४ करोड ४३ लाखको सिलिङ तोकिएको छ । मन्त्री ज्वालाले चालू आवमा खर्च हुन नसकेको साढे ३ अर्ब यही बजेटमा समावेश गरी ३० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी भइरहेको जनाए ।
चालू आवमा प्रदेश सरकारले २८ अर्ब २८ करोडको बजेट ल्याएको थियो । पूर्वाधार, कानुनी संरचना र कर्मचारी अभावले चालु अवको बजेट कार्यान्वयन हुन नसकेकाले आगामी वर्ष यी समस्या नदोहोरिने उनले बताए ।