सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १५ अर्ब ३६ करोड बराबर नाफा कमाएको छ ।
प्राधिकरणको चालु आवको छ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ६७ अर्ब २८ करोड ७७ लाख आम्दानी गरेको हो । विद्युत् खरिद, प्रशासनिक, आयोजना लगायतमा जम्मा रु ५१ अर्ब ९२ करोड ७१ लाख खर्च भएको छ ।
प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ । प्राधिकरणले समीक्षा अवधिमा रु १५ अर्ब ३६ करोड ६ लाख नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९÷८० को सोही अवाधिमा प्राधिकरणको नाफा रु १० अर्ब ९१ करोड ६० लाख थियो । गत आवको पहिलो छ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा रु चार अर्ब ४४ करोड ४६ लाखले बढी हो ।
गत आवको नाफा रु १२ अर्ब ३३ करोड थियो । आव २०७२÷७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा वृद्धि भएको भन्दै खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो छ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।