अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेको र त्यसका लागि आन्तरिक स्रोत पर्याप्त नहुने भएकाले वैदेशिक लगानी अपरिहार्य रहेको बताएका छन्।
बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले वैदेशिक लगानी अपरिहार्यतामा जोड दिएको लन्डनस्थित नेपाली राजदूतावासले जनाएको छ।
नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले ‘सिटी अफ लन्डन’ को ‘म्यान्सन हाउस’मा मङ्गलबार एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो।
सो अवसरमा अर्थमन्त्री डा. महतले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐन, कानुन निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको र यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका कार्य सुरु गरेको समेत बताए। उनले अन्तर्राष्ट्रिय वित्त बजारबाट पूँजी परिचालन गर्न आवश्यक कानुनी पूर्वाधार तयार गरिने जानकारी दिँदै आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास व्यक्त गरे।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लन्डनबाट लगानीका दीर्घकालीन वित्तीय स्रोतहरुमार्फत बेलायतबाट नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताए। नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बङ्गलादेश समेत निर्यात गर्न तयारी गरेको बताउँदै नेपालको जलविद्युत्बाट नेपाल मात्र नभई दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताए।
कार्यक्रममा सिटी अफ लन्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लन्डनमा प्रशस्त वित्तीय स्रोत तथा जोखिम बहन गर्ने बीमा कम्पनीहरु रहेका र नेपालको दिगो विकासका लागि सिटी अफ लन्डनको सहयोग रहने बताए।
बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले गत केही वर्षमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको र वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गरिरहेको बताउँदै नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
बेलायती संसद्मा बेलायत नेपाल संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्माले नेपाल–बेलायत ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपालका विभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको बताए। युके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका विभिन्न क्षेत्रमा १ दशमलव ५ बिलियन पाउन्डसम्म लगानी गर्न युके एक्सपोर्ट फाइनान्स तयार रहेको जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी मैत्री वातावरण भएको हुँदा वैदेशिक लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न निजी क्षेत्रको तर्फबाट आग्रह गरे।
ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका प्रबन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फन्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टिम गोचरले नेपालमा आफूहरुले गरेको लगानी फलदायी रहेको बताउँदै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको औँल्याए।
सो अवसरमा नेपाल सरकार अर्थ मन्त्रालय तथा नेपालमा लगानी गरिरहेका छ वटा विकास वित्तीय संस्था— ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्ट, बेलायत, एफएमओ, नेदरल्यान्ड, बायो, बेल्जियम, फिनफन्ड, फिनल्यान्ड, प्रोपार्को, फ्रान्स एवं साइफेम, स्वीट्जरल्यान्डबीच नेपालमा विकास वित्तीय संस्थाहरुको लगानी सहजीकरण गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो।
सो अवसरमा अर्थमन्त्री डा महतले हिन्दुजा ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष जिपी हिन्दुजासँग नेपालमा लगानी भित्र्याउने विषयमा छलफल गरेका थिए। सो सम्मेलनमा बेलायती बैङ्कर्स, निजी लगानीकर्ताहरु, बीमा कम्पनीहरु, बेलायतलगायत युरोपेली मुलुकका विकास वित्तीय संस्थाका प्रतिनिधिहरु, व्यापार मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु, नेपाली डायस्पोरा, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीहरुलगायत गरी करिब सय जनाको उपस्थिति रहेको थियो।